25 January 2012

एक अर्ब रुपैया लगानी भित्र्याउने एनआरएन युकेको तयारी

लण्डन,
गैरआवासीय नेपाली संघ बेलायतले नेपालमा जलविद्युतका लागि झण्डै १ अर्ब रुपैया लगानी भित्राउने महत्वकांक्षी लक्ष्य लिएको छ । नेपालमा जलविद्युत् क्षेत्रमा सामूहिक लगानी जुटाउन शनिवार लण्डनमा हुने बृहत अन्तरक्रिया कार्यक्रममा सो रकम उठाउने तयारी गरि रहेको वेलायतबाट संचालित कम्युनिटी समाचार साइट नेपाल बृटेन डट कमले जनाएको छ । नेपालमा जलविद्युतमा लगानी गर्न बेलायतमा रहेका गैरआवासीय नेपालीहरु उत्साहित भएको एनआरएन दाबी छ । स्रोतका अनुसार धेरैले लगानी गर्न प्रराम्भिक नामसमेत दिइसकेका छन् । सो कार्यक्रममा लगानी गर्न इच्छुक ब्यक्तिहरुलाई प्रराम्भिक फारम भर्न दिइने छ । करिव ५ अर्ब लगानी रहने सो परियोजनको लागि लाग्ने सबै रकम गैरआवासीय नेपालीहरुबाट संकलन गर्ने महत्वकांक्षी लक्ष्य राखिएको छ । सो लक्ष्य पूरा गर्न एनआरएन युके एक्लैले एक अर्ब उठाउंने लक्ष्य लिएको स्रोतले दाबी गर्‍यो । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले अगाडी सारेको सो परियोजनामा पाँच बर्षभित्र १०० मेघावाटसम्मको जलविद्युत् सञ्चालन ल्याउने लक्ष्य छ । एक लाखदेखि पाँच करोडसम्मको शेयर किन्न सक्ने प्रावधान परियोजनामा छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष लामिछानेले आउँदो शनिबार लण्डनमा हुने छलफल कार्यक्रममा लगानीको रोडम्याप, चुनौति, परियोजना सञ्चालन र अवसरका बारेमा प्रकाश पार्ने बताइएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक रामप्रताप थापा, वर्तमान अध्यक्ष लामिछाने, आइसीसी उपाध्यक्ष, हितमान गुरुङ, केन्द्रीय प्रवक्ता डा. हेमराज शर्मा, डा बद्री केसीलगाएतको सहभागिता रहने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे रहने छन् । अन्तरक्रिया कार्यक्रममा नेपालमा लगानी बिषयमा मात्र नभएर गैरआवासीय नेपालीहरुले उठाउदै आएको नागरिकता बचाऊ अभियानबारेमा पनि छलफल हुने एनआरएन युकेका प्रवक्ता जीव वेल्वासेले बताए । अहिले सबैको ध्यान लगानीतिर भए पनि हाम्रो नागरिकता बचाऊ अभियानलाई पनि एकै साथ लैजाने लक्ष्य छ बेलवासेले भने- जलबिद्युत्को लगानी सम्बन्धमा हाल प्रराम्भिक जानकारी समेत आइनसकेकाले अहिले नै यति लगानी उठ्छ भन्न सकिन्न । विस्तृत कार्ययोजना आएपछि मात्र लगानी सम्बन्धमा स्पष्ट हुन सकिन्छ तर प्रराम्भिक जनचासो हेर्दा बेलायतबासी गैरआवासीय नेपालीहरुको उत्साहजनक लगानी नेपालमा भित्रिने सम्भवना छ उनले भने । यसैगरी गैरआवासीय नेपाली संघले बेलायतमा रहेको सबै सामाजिक संघ सस्था तथा व्यवसायिक प्रतिष्ठानहरुलाई शनिवारको बृहत अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुन आब्हान गरेको छ

No comments:

Post a Comment